र्यान्डममा सुमिनाको ‘बागी स्त्रीको आत्मकथा’
पाेखरा | जेठ २७, २०८१
पोखरा: र्यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा सुमिनाको कविता सङ्ग्रह ‘बागी स्त्रीको आत्मकथा’ कोे परिचर्चा गरेको छ ।
सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार रीना थापा (तानी) ले कृतिमाथि अवधारणापत्र प्रस्तुत गरेकी थिइन् । उनले सुमिनाको कविताले पित्तृसत्तामाथि सशक्त प्रहार गर्दै आममहिलाको
भावना समेटेको धारणा राखिन् । “पुँजीवादी समाजमा महिलाले भोगेका पीडा र मनोभाव कवितामा उतारिएको छ” तानीले भनिन्, “सदियौँदेखि पितृसत्ताले थिँचिदै आएका आम महिलामाथिको दमनलाई विद्रोही चेतयुक्त ‘बागी स्त्रीको आत्मकथा’ ले ‘म’ लेखेको छ, ‘हामी’ लेखेको छ ।”
सुमिनाले उठाएको आवाज समकालीन साहित्य जगत्मा नयाँ पुस्ताको बलियो हस्तक्षेप भएको तानीको भनाइ थियो । भनिन्, “एक महिला कवि जसले आफ्नो स्वतन्त्रताको फिराद मात्र गरेकी छैनन्, समाजका हरेक उत्पीडित वर्गका विषयमा खरो उत्रिएकी छन् ।” सुमिनाको कलमले केवल कविता होइन, नारी मुक्तिको यात्रा लेखेको विचार तानीले राखिन् ।
कवि सुमिनाले एउटै सङग्रहमा जीवन र जगत्का सबै पक्षलाई अटाउन नसकिने भएकाले आफूले केही वैचारिक कविता मात्र लेख्न सकेको बताइन् ।
आफ्नो कृति बजारमा आएपछि आएका विभिन्न प्रश्नहरूको जबाफ कवितले नै दिने बताउँदै सुमिनाले वैचारिक धरातल र बुझाइको तहअनुसार कवितालाई बुझ्ने भएकाले पाठकको विचारलाई सम्मान गर्नुपर्ने विचार सुनाइन् ।
प्रगतिशील कविता लेख्ने भन्दैमा प्रेमलाई अस्वीकार गर्न नहुने उनको भनाइ थियो । कृतिभित्रका प्रेमकविताका सन्दर्भमा पाठकले उठाएका प्रश्नको जबाफ दिँदै उनले प्रेमको होइन, प्रेमका नाममा हुने दासत्वको विरोध गर्नुपर्नेमा जोड दिइन् ।
कवि रमेश श्रेष्ठले विषय जे भए पनि कविता मान्छेकै लागि लेखिनुपर्ने विचार राखे । मान्छेपिच्छेका सोचाइ आआफ्ना हुन सक्ने भएकाले फरक विचारको पनि सम्मान गर्नुपर्ने श्रेष्ठको भनाइ थियो ।
विश्व कविताका क्षेत्रमा नेपाली कविता कमजोर नभएको तर अनुवादको अभावमा पछि परेको अनुभव श्रेष्ठले सुनाए ।
कार्यक्रममा सरिता तिवारी, नेपालप्रकाश अधिकारी, विष्णु बाँस्तोला, त्रिवेणी, विमल दाहाल, हसिना बस्नेतलगायतले टिप्पणी गरेका थिए । कार्यक्रमको सञ्चालन सहसचिव दीपक पराजुलीले गरेका थिए ।
‘पढौँ र ज्ञान बाँडौँ’ भन्ने मान्यतासहित पठन संस्कृतिको विकासमा २०६७ देखि क्रियाशील सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै कृति वा विषयमाथि परिचर्चा गर्दै आएको छ ।
काठमाडौं: सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठ...
काठमाडौं: नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन ईकाइ प्रमुख बिनेश मुनंकर्मीविरुद्ध दुई करोड ५० लाख ३४ हजार ५१७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको ...
पोखरा: यसपालीको पोखरा सडक महोत्सव विशेष हुने भएको छ । किनकी रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवमा यस वर्ष हिट्स अफ नाईन्टिज गुञ्...

